ललितपुर मेयर्स कप महिला क्रिकेट फागुन १० गते देखि

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यममा हुनेछ ।
क्यानले शुक्रबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदूरपश्चिम, लुम्बिनी र ललितपुर मेयर ११ गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
क्यानको आयोजनामा धनगढीमा भएको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलिस्ट चार टिम र बाँकी टिमको खेलाडीहरू मिलाएर ललितपुर मेयरले प्रतियोगिता खेल्ने क्यान कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । पहिलो दिन एपीएफ र प्रदेश १ बीच पनि खेल हुनेछ ।
सिंगल लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । गत सिजनको खेल एपीएफले जितेको थियो ।