zoom pc client - zoom pc client download center zoom zoom app features and benefits download older version of zoom lil wayne zoom freestyle download download free zoom download zoom meeting free for windows zoom online teaching app download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

उपमेयर जसपालाई दिइएपछि विराटनगरमा कांग्रेस कार्यकर्ता रुष्ट, रुखमा बाहेक भोट नहाल्ने !

 बिहिबार, बैशाख ८ २०७९  

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल हुने भएको छ । सत्ता गठबन्धन दलहरुबीच भएको सहमति अनुसार विराटनगर महानगरमा अब मेयरमा नेपाली कांग्रेसले उम्मेदवार उठ्नेछन् भने जसपाले उपमेयर पाउनेछ ।

यसअघि नै कांग्रेस महानगर समितिले विराटनगर महानगरपालिकामा चुनावी तालमेल गर्न नसकिने निर्णय गरेको थियो । कांग्रेस एक्लैले तालमेलबिनै जित्ने दाबी गरिरहेको अवस्थामा भएको चुनावी तालमेलले कार्यकर्तामा निराशा छाएको छ । कांग्रेस विराटनगरका सभापति दीपक चापागाईँले विराटनगर महानगरपालिकाको उपमेयर जसपालाई दिने भनेर गठबन्धनबीच तालमेल गर्ने निर्णय भएपनि त्यो मान्न नसकिने तर्क गरे ।

उनकाअनुसार पार्टीको कार्यसम्पादन समिति, संसदीय समिति वा केन्द्रीय समितिले अनुमोदन नगर्दासम्म मान्न सकिँदैन । ‘अहिले नै हामीले कोसँग कसरी तालमेल भयो भन्नेमा आधिकारिक मानिँदैन,’ उनले भने, ‘एउटा सहमतिको म्याण्डेड लिएर गएको कार्यदलले गरेका निर्णय सबै मान्नु पर्छ भन्ने हुँदैन, कार्यसम्पादन समिति वा केन्द्रीय समितिबाट पारित भएर आउनु पर्छ ।’

उपमेयरसहित १९ वडामा ६ वटा वडा पनि जनता समाजवादी पार्टीले माग राख्दै आएको छ । विराटनगरमा अहिलेसम्म कोइराला परिवारको एकाधिकार चल्दै आएको अवस्थामा डा. शेखर कोइरालाले नचाहँदापनि गठबन्धन गराएर कोइरालाको शक्ति क्षीण भएको रूपमा देउवा समूहले अर्थ्याएको छ । गठबन्धन भइहाले पनि विराटनगरको मेयरमा डा. कोइरालाले अघि सारेका नागेश कोइरालाले उम्मेदवार हुने मौका पाएभने मात्र पनि कोइरालाको विजय भएको ठानिने अवस्था आउने कांग्रेस निकट पुराना नेताहरू बताउँछन् ।

विराटनगर महानगरपालिकामा टिकट समेत नपाउने अवस्था आएमा कोइराला समूहको वर्चस्व पनि गुम्ने खतरा रहेको बताइन्छ । आवश्यकताको आधारमा मात्र गठबन्धन गर्न सकिने भन्दै आएका डा. कोइरालालाई पार्टीबाट भएका गतिविधिबारे कुनै विषयमा नसोधिएको उनको सचिवालय बताउँछ ।

गठबन्धनलाई मननै नपराएका कांग्रेस नेता कार्यकर्ताहरू चुनावमा अर्को पार्टीलाई भोट नहाल्ने पक्षमा देखिएका छन् । नेपाली कांग्रेसकी नेतृ तथा उपमेयरमा दाबी गर्दै आएकी प्रमीला थापाले गठबन्धन भएर अर्को पार्टीलाई भोट हाल्नुपर्ने अवस्था आयो भने रुखलाई मात्र भोट हालेर फर्किने बताउँछिन् । ‘अर्को दलको उम्मेदवारलाई भोट हाल्न सकिँदैन,’ उनले भनिन्, ‘यो मेरो मात्र कुरा हैन विराटनगरका सबै कांग्रेसीको कुरा हो ।’

नेपाली कांग्रेसले विराटनगरको मेयरमा महानगर समितिले ७ जनाको नाम सिफारिस गरेको थियो । अहिलेका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, प्रदेश सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला र नगर सभापति दीपक चापागाईँको नाम सिफारिस भएको थियो । अन्तिम अवस्थामा आउँदा डा. संग्रौला, अर्याल र कोइराला मध्ये एकजनालाई मेयर बनाउनेबारे छलफल भइरहेको कांग्रेस नेताहरू बताउँछन् । संग्रौला र अर्याल देउवा समूहका नेता हुन् भने नागेश डा कोइराला समूहका नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया सबै