भारतपुरमा ओलीले भने- ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी समेत गरे ।
‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?
यस्तै, जिन्दगीभर कांग्रेस भएर हिँडेकाहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी (भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाल) जसरी पनि जिताउन लाग्नुपर्ने बाध्यतामा रहेको ओलीले बताए । ५ वर्षअघि प्रचण्डकी छोरी रेनुलाई मतदान गरेर मेयर बनाएका कांग्रेस कार्यकर्ता यस वर्ष पनि मतदान गर्न बाध्य भएका ओलीले टिप्पणी गरे ।
प्रचण्डले चितवनमा केही दिनअघि सत्तारुढ गठबन्धनले गरेको आमसभामा मेयरमा रेनु दाहाललाई जिताएमा आफू खुशी हुने र गठबन्धन १५-२० वर्ष टिक्ने बताएका थिए । त्यसप्रति टिप्पणी गर्दै ओलीले २० वर्ष गठबन्धन टिकाए कांग्रेसलाई नै घाटा हुने बताए । ‘२० वर्षसम्म छोरी बोक, ज्वाइँ बोक, भाइ बोक, भतिजो बोक’ उनले भने ।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्क्याउने बानी अझै नगएको बताएका छन् । ‘धम्क्याउने बानी अहिलेसम्म गएनछ, धम्क्याइ आएकाहरु धम्क्याएर खाएकाहरुको अहिलेसम्म बानी गएनछ’ उनले भने, ‘जनताले बुझिसकेछन् धम्कीको काम छैन । कसैले धम्क्याएर दुर्घटना हुँदैन । दुर्घटना होइन, घटना हुन्छ, गठबन्धनले नराम्रोसँग हार्छ ।’
निर्वाचन आयोगले अरुको झण्डा र चुनाव चिह्न लिएर प्रचार नगर्न खबरदारी गरेको भन्दै ओलीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कारबाही गर्न चुनौती दिए । ‘प्रचण्डलाई किन कारबाही नगरेको रु काठमाडौंमा सिर्जना सिंहलाई मत माग्दा, शेरबहादुरलाई किन कारबाही नगरेको, चितवनमा रेनु दहाललाई मत माग्दा रु’ ओलीले प्रश्न गरे ।