१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

निर्वाचन सुरक्षाका लागि सेनाले बनायो ८३४ ‘अप्रेसन बेस’

 सोमवार, बैशाख २६ २०७९  

काठमाडौं । नेपाली सेनाले आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ । सेनाले गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा अस्थायी बेस स्थापना गरेको हो । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिनेछ । सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी गरेको हो ।

सकेसम्म हेलिकोप्टरको प्रयोग घटाउन अप्रेसन बेस बढाइएको सिलवालको भनाई छ । यी बेसबाट पनि मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि सेनाले चार ठाउँमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेको छ । सेनाले ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि लिएको छ । त्यहाँ रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएपछि सेनाले ती कारागारको सुरक्षा जिम्मा लिएको हो । सेनाले देशका विभिन्न विमानस्थलको सुरक्षा जिम्मा पनि लिइसकेको छ । विमानस्थलमा यात्रु चेकजाँच लगायतका अत्यावश्यक संख्यामा मात्रै प्रहरी राखेर बाँकी सुरक्षामा सेना खटिएको हो ।

कारगारमा पनि कैदीबन्दी ल्याउने लैजाने काममा मात्रै प्रहरी राखेर बाँकी सेना खटाइएको छ। यस्तै रेडियो नेपाल प्रसारण केन्द्र, संसद भवन सहित १७ वटा महत्वपूर्ण स्थानको सुरक्षामा पनि सेना खटिएको छ । निर्वाचनमा ७१ हजार नेपाली सेना खटिने भएको छ। नेपाल प्रहरी ६१ हजार ८३१ जना, एक लाख म्यादी, सशस्त्र प्रहरी २३ हजार ५३२ जना, ३ हजार गुप्तचर पनि खटिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि जेठ ३० गते आदेश जारी गरेकी थिइन्। त्यसको भोलिपल्ट वैशाख १ गतेबाट सेना परिचालन गरिएको हो । मतपत्र छपाइको सुरक्षादेखि ढुवानीसम्मको सुरक्षा जिम्मा पनि सरकारले सेनालाई दिएको थियो। कतिपय स्थानमा नेपाली सेनाको हेलिकोप्टरमै निर्वाचन सामाग्री ढुवानी गरिएको थियो। सेनाले सबै जिल्लामा सामाग्री पु¥याइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पालिकामा मत पत्र लैजाने सुरक्षामा पनि सेना खटिने छ। २७ गते बेलुकासम्ममा सबै मतदानस्थलमा निर्वाचन सामाग्री पुर्याइसक्ने आयोगले जनाएको छ ।

हालै स्थापना गरिएको बेसमा जिल्ला बाहिरबाट टोली पठाइएको हो। ती हरेक बेसमा बम डिस्पोजल टोली पनि रहनेछछन् । खबर आएको ३० मिनेटभित्रमा हरेक मतदानस्थलमा पुग्ने गरी बम डिस्पोजल युनिट पनि तैनाथ रहने सेनाले जनाएको छ ।

प्रतिक्रिया सबै