मतदाताको परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । मतदाताको परिचयपत्र लुटेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएका छन् ।
मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा लिए पनि उनी परिचयपत्र फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । अहिले वितरणका लागि १ सय २५ थान मतदाता परिचयपत्र सबै मतदान अधिकृतलाई बुझाइएको छ ।
जिल्ला प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलका अनुसार फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काफ्ले २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए ।