८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

स्थानीय चुनाव : देशभरका ३४ स्थानमा मतदान स्थगित

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार ठाउँ-ठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो ।

स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले बताए ।

यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ । केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ । उनका अनुसार विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।

यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)ले छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटना भएको जनाएको छ । समितिले घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जनाएको छ ।

‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेख लगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीहरूद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको पाइयो, जसले निर्वाचनमा आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ । कतिपय स्थानहरू मतदान स्थगन भई फेरी निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ’,
विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया सबै