निर्वाचन परिणाम ८० प्रतिशत आइसक्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन अयाोगले बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाम ८० प्रतिशत आइसकेको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आज आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको बताए ।
‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुख÷उपप्रमुख, ३९६ गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष निर्वाचित भइसक्नुभएको छ । ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३÷३ जना निर्वाचित भइसक्नुभयो’, प्रवक्ता पौडेलले पत्रकार सम्मेलनमा भने ।
उनका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए । परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगले जनाएको छ ।
‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक त नपर्ला । तर, त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुन्छ’, पौडेलले भने ।