चुनावमा कांग्रेसबाट धोका भएको भन्दै यी नेताहरुले थाले ओली-प्रचण्ड मिलाउने पहल

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो निर्वाचन परिणाम अनुसार गठबन्धनका नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ ।
कांग्रेसले विहिबार दिउँसो ३ बजेसम्मको मतपरिणाम अनुसार २ सय ५८ स्थानीय तहमा नेतृत्व जित्न सफल भएको छ । पहिलो स्थानमा रहेको कांग्रेसले अझै ६४ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको नेकपा एमालेले १४६ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ भने अझै ३२ स्थानीय तहमा अग्रता लिइरहेको छ । तर, गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । माओवादीले हालसम्म १ सय ६ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ भने, १३ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
यसबीच गठबन्धन गरेर पनि नेपाली कांग्रेसले समर्थन नगरेको आफ्ना उम्मेदवारलाई भोट नहालेको भन्दै माओवादी केन्द्रका नेताहरु असन्तुष्ट जनाएको खबरहरु बाहिरिन थालेका छन् । माओवादीको तेस्रो धारका नेताहरुले कांग्रेसले चुनावी मतपरिणाम हेर्दा धोका दिएको भन्दै असन्तुष्टी जनाएको हो ।
चुनावको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउने भन्दै पहल नै थालेका छन् ।
यसो त चुनावी परिणामप्रति नेकपा एकीकृत समाजवादी सबैभन्दा बढी असन्तुष्टि देखिएको छ । पार्टीका अध्यक्ष माधव नेपालले त गठबन्धनबाट असहयोग नै भएको बताएका छन् । यसबीच माओवादीमा पनि तेस्रो धारका नेताहरु असन्तुष्टि देखिएको र नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका हुन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीट नै गर्दै वाम एकताको सम्भावना औंल्याएका छन् । एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको पनि उनको भनाई छ । माओवादी नेता वर्षमान पुन पनि प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् ।
यसअघि प्रचण्डले पनि भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी नै दिएका थिए । उनले घुमाउरो तरिकाले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए ।
यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबीचको तालमेलमा धोका भएको खुलेरै असन्तुष्ट देखाएका छन् । उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका हुन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना भएको पनि औँल्याए ।
गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको हो । काँग्रेसले यो पटकको स्थानीय तह निर्वाचनमा ३ सय कटाउने निश्चित छ । एमाले पनि २ सयको हाराहारीमा पुग्ने भएको छ । माओवादी भने तेस्रो स्थानमै चित्त बुझाउनु पर्नेछ ।
एकीकृत समाजवादीले पनि आशा गरेभन्दा कम पालिकामै चित्त बुझाउनु परेको छ । समाजवादीले लगभग २० को हाराहारीमा पालिकामा नेतृत्व लिने देखिन्छ । यसै कारण माधव नेपाल र झलनाथ खनाल असन्तुष्ट देखिएका छन् । यसले वामपन्थीहरुलाई पुनः एक ठाउँमा ल्याउने अवस्था सृजना देखिएको हो । यसका लागि एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएको बुझिन्छ ।