बिहेको तीन दिनअघि बाबु-छोराको हत्या

काठमाडौं । सिरहाको अर्नमा गाउँपालिका १ महनौरस्थित एक घरमा बाबु-छोराको हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियारले चुलाही भन्ने ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या गरेको हो ।
स्थानीयका भनाई अनुसार जेठ ११ गतेका लागि छोरा सन्तको बिहे छिनोफानो भएको थियो । विवाहको खुसियालीमा मिथिलाको परम्परा घरमा महिलाहरूले गीत गाउँने गरेका थिए ।
सन्तकुमारको घरमै टोलकी महिलाहरु भेला भइ विवाहको गीत राति १२ बजेसम्म गाएका थिए । गीत गाएर सबै घर फर्किएको केही घण्टामै उनीहरूको हत्या भएको भन्दै गाउँभर हल्ला फैलियो ।
सन्त कुमारसँग ११÷१२ वर्षका एक बालक समेत सुतेका थिए । उनी सुतेकै घरमा टाँसिएको अर्को कोठामा बुबा सुतेका थिए । घटनापश्चात बालक चिच्याएपछि गाउँलेले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
हत्या भएका सन्तकुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए । बाबु-छोराको हत्यापछि महनौर टोल त्राससँगै शोकमा डुबेको छ ।
यस घट्नाको अनुसन्धानमा प्रहरीले रातिदेखि सुरु गरेका छन् । तर, अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने खुलेको छैन । तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास ढकालले बताए । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका उनको भनाई छ । अहिले महनौरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।