चलचित्र ‘कबड्डी–४’लाई अहिलेसम्मकै उच्च शो
काठमाडौं । भोलिबाट चलचित्र ‘कबड्डी–४’ रिलिज हुँदै छ । ‘केजीएफ च्याप्टर–२’ले भन्दा धेरै शो पाएको चलचित्रले कोरोना संक्रमणको त्रासपछि नेपाली फिल्ममा नफर्किएका दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण पक्ष तथा वितरकको छ ।
‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने पहिलो चलचित्र बनेको छ । ‘केजीएफ च्याप्टर–२’ले क्यूएफएक्समा ८० शो पाएको थियो । मल्टिप्लेक्समा उच्च शो पाएको चलचित्रको टिकट बिक्री पनि आक्रामक छ ।
निर्देशक रामबाबु गुरुङका अनुसार काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्यूएफएक्समा शो बढ्ने क्रम जारी छ । विग मुभिजले १६ वटा शो बनाएको छ । केएलले १७ वटा, वान सिनेमामा १६ वटा शो छ । नेपाल सबैभन्दा धेरै शो पाएको यो नै पहिलो चलचित्र हो । करिब ९० प्रतिशत टिकट आज दिउँसो साढे ३ बजेसम्म बिक्री भइसकेको निर्देशक गुरुङले बताएका छन् ।
शनिबारसम्म टिकट बिक्री राम्रो देखिएको भन्दै उनले कोभिडपछि नेपाली दर्शक हलमा फर्किने संकेत देखिएको बताए । गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी–४’ले नेपालमा उच्च शो पाउने सिनेमा पनि बनेको छ ।
यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ मुख्य भूमिकामा छन् । यो चलचित्र नेपाली भाषी बसोबास गर्ने भारतका एक दर्जनभन्दा धेरै सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।