६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

बालेनलाई देउवाले भने- ‘फोहोर व्यवस्थापनको लागि जे-जे उपाय छ लगाउनुहोला सहयोग हुनेछ’

 बुधबार, जेष्ठ १८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन् ।

प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई दिएका छन् । ‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले भने ।

‘काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि कांग्रेसको बहुमत छ । विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे-जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए । ‘विश्वास र साथ दिनुहोला, महानगर बनाउने काम मेरो भयो,’ बालेनले प्रधानमन्त्री देउवालाई भने ।

प्रतिक्रिया सबै