‘प्रतिनिधिसभाको चुनाव कात्तिक-मंसिरभित्रै हुन्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादु देउवाले प्रतिनिधिसभाको चुनाव कात्तिक वा मंसिरभित्रै हुने बताएका छन् । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला देउवाले भने, ‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्यो भने झन् विवाद हुन्छ । तपाईंहरुले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ ।’
शनिबार कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि प्रधानमन्त्री देउवाले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताए । ‘जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ’, उलने भने ।
गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।