गठबन्धनका दलहरुले नैतिक आचरण विपरीत काम गर्यो : बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका दलहरुले नैतिक आचरण विपरीत काम गरेको आरोप लगाएका छन् । चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा सदरमुकाम पुगेका भट्टराईले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् ।
‘गठबन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई जसरी पनि कार्यान्वयन गर्नुपथ्र्यो,’ उनले भने, ‘तर त्यसो भएन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिक आचरण विपरीत भयो, यसकै फलस्वरुप हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ ।’ विचार नमिल्ने शक्तिहरु बिच गठबन्धन हुँदा पनि समस्या भएको उनको भनाई छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखाको स्थानीय तह भागवण्डामा सहमति गरेपनि कांग्रेसकै कारण कार्यान्वयन हुन नसकेको उनले बताए ।
‘गोरखाको ११ स्थानीय तहमध्ये कांग्रेसलाई पाँच, माओवादीलाई चार र जसपालाई दुई भनेर मैले फर्मुला निकालेँ, शेरबहादुर र प्रचण्डले पनि हुन्छ भन्नुभयो तर कांग्रेसका साथीहरुको के वुद्धि बिग्रियो मान्नुभएन’, भट्टराईले भने ।
एकीकृत समाजवादी पार्टीले पनि ढाँटछल गरेको उनले बताए । चुनावी तालमेल भएको ठाउँमा उनीहरुले जसपालाई सहयोग नगरेको उनको भनाई छ । संगठनात्मक कमजोरी र पार्टी भित्रकै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि गोरखामा चुनाव हारेको उनको भनाई थियो ।