zoom installer download msi zoom profiler download download free zoom meeting desktop zoom software free download zoom portable download zoom free download for laptop uk - zoom free download for laptop uk
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

अनावश्यक पेट बढ्यो, लाग्न सक्छ यस्ता रोग

 सोमवार, जेष्ठ २३ २०७९  

चिकित्सा विज्ञानमा भएका धेरै अनुसन्धानहरूले भुँडी लाग्ने समस्यालाई अनेकौं रोगहरूको कारक तत्त्वको रूपमा दर्शाएका छन् ।

हुन पनि यो भुँडीलाग्नाको कारणले मुटु तथा रक्तनलीका रोग, अल्जाइमर रोग, मेटाबोलिक सिन्ड्रोम, टाइप-२ मधुमेह, एलडीएल कोलेस्टेरोल बढ्ने, एचडीएल कोलेस्ट्रोल घट्ने जस्तो रक्तचिल्लोको गडबडी, हृदयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, विभिन्न किसिमका क्यान्सर, हड्डी खिइने समस्या, कलेजोमा बोसो जम्ने समस्या, निन्द्रामा घुर्ने समस्या, तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यता जस्ता शारीरिक एवं मानसिक समस्याहरू देखा पर्छन् । यसरी भुँडी लागेकै कारणले अनेकौं दीर्घ एवं जीर्ण रोगहरू लाग्ने भएपछि भुँडीलाई हाम्रो व्यक्तित्वको प्रतीक हैन रोगको पोको मान्न थालिएको छ ।

मुटुरोग
संसारमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीको रोगको कारणले एक करोड ७७ लाख मान्छे मारिन्छन् । यसर्थ मुटु तथा रक्तनलीका रोगहरू संसारका नं. एक हत्यारा हुन् । यसरी यति धेरै मानिस मार्ने मुटु तथा रक्तनलीका रोगहरूको जोखिम बढाउनुमा भुँडीमा लागेको बोसोको पनि ठूलो हात छ ।

एउटा अनुसन्धानले दर्शाए अनुरूप ३५ प्रतिशत मुटुरोग भुँडी लाग्नाले वा तौल बढ्नाले हुने गर्छ । भुँडीमा बोसो लाग्दा रक्तचाप बढ्ने, रक्त ग्लुकोज बढ्ने, राम्रो कोलेस्ट्रोल घट्ने, नराम्रो कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढ्ने, शारीरिक सक्रियता घट्ने, मानसिक तनाव बढ्ने जस्ता मुटुरोगका जोखिम बढाउने समस्याहरू बढ्ने हुँदा मुटु तथा रक्तनली सम्बन्धी रोग पनि लाग्ने गर्छ ।

मधुमेह
भुँडी लाग्दा भुँडीको बोसोबाट उत्सर्जित हुने एडिपोकाइन्सहरूले ग्लुकोज टोलरेन्स बिगार्ने, इन्सुलिन प्रतिरोधकता बढाउने र रक्तग्लुकोज बढाएर टाइप-२ मधुमेह गराउने गर्दछ ।

नाभीको वरिपरि जम्मा भएका बोसो (वेस्टलाइन एडिपोज टिस्यु) बाट लेप्टिन, एडिपोनेक्टिन, एपेलिन, केमेरिन, इन्टरल्युकिन-६, मोनोसाइट किमोटेक्टिक प्रोटिन-१, प्लास्मिनोजेन एक्टिभेटर इन्हिबिटर-१ रेटिनोल बाइन्डिङ्ग प्रोटिन-१, ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा, विस्फाटिन, ओमेन्टिन, भास्पिन, प्रोग्यानुलिन, सि.टी.आर.पी.-४, इन्टरल्युकिन-८, इन्टरल्यकिन-१०, इन्टरफेरोन गामा जस्ता एडिपोकाइन्सहरूको उत्सर्जन हुने गर्दछ ।

यी एडिपोकाइन्सहरूमध्ये एडिपोनेक्टिनबाहेक अन्यको रक्तमात्रा बढ्दा इन्सुलिन प्रतिरोधकता पनि बढ्न गई मधुमेह देखापर्छ । यसैगरी भुँडीमा बोसो लागेर मान्छे मोटाउन थालेपछि रगतमा रेसिस्टिन प्रोटिनको मात्रा बढ्न थाल्छ । रेसिस्टिन प्रोटिनको रक्तस्तर बढेपछि इन्सुलिन प्रतिरोधकता पनि बढ्छ । फलतः टाइप-२ मधुमेह देखापर्छ ।

दम
मान्छेको भुँडी लाग्दै गएपछि उसलाई दमको समस्या पनि देखापर्छ । यसो हुनुमा केही यान्त्रिक त केही रासायनिक कारणहरू छन् । यन्त्रिक कारणमा मान्छेको भुँडी लागेपछि बढेको भुँडीले प्रमुख श्वासप्रश्वासको मांशपेशी डायफमलाई मजाले फैलिन नदिएर पूरै सास फेर्न दिँदैन । जसले गर्दा लङ्ग भोल्युम घट्न गई दम बढ्छ ।

यसैगरी मान्छे मोटाउन थालेपछि उसमा शारीरिक निष्क्रियता पनि बढ्ने हुँदा शरीरका अन्य मांशपेशीसहित श्वासप्रश्वासका मंशपेशीहरू पनि कमजोर हुने हुँदा दम देखापर्छ । यसैगरी भुँडी लाग्दा पेटको बोसे तन्तुबाट अनेकौं प्रकारका इन्फ्लामेटरी रसायनहरू उत्सर्जित हुनेहुँदा श्वास नलीहरूमा इन्फ्लामेसन भई दम हुनेगर्छ ।

अल्जाइमर
अनुभूत गरिएका विषयहरूलार्ई स्मरण गर्न नसक्ने रोगलाई अल्जाइमर रोग भनिन्छ । यो रोगबाट विश्वभर ३ करोड मानिसहरू प्रभावित छन् ।

पेटमा बोसो लाग्दा बोसो लागेका कारणले रक्तनलीमा अनेकौं प्रकारका परिवर्तनहरू भई मष्तिस्कका स-साना रक्तनलीहरू सुन्निने र फुट्ने हुँदा मष्तिस्कका तन्तुहरू क्षय भई विस्मृति बढ्छ । यसैगरी पेटमा बोसो लागेकै कारणले अनेकौं मेटाबोलिक परिवर्तन भई मष्तिस्कका रक्तनलीहरूमा अथेरोस्क्लेरोसिस भई अल्जाइमरको समस्या बढ्छ । अनुसन्धानहरूले दर्शाए अनुरूप पेटका कोमल अङ्गहरूमा बोसोको मात्रा बढ्दा मष्तिस्कको आयतन पनि घट्ने गर्दछ । जसले गर्दा विस्मृति रोग (अल्जाइमर रोग)लाग्छ ।

उच्चरक्त चाप
भुँडी लाग्दा वा तौल बढेकाहरूमध्ये अधिकांशलाई उच्च रक्तचापको समस्या पनि भएको पाइएको छ । यसो हुनुको मुख्य कारण हाम्रो बी.एम.आई. बढ्दा मांशपेशीको सेम्पेथेटिम नर्भ एक्टिभिटी पनि बढ्ने गरेकाले हो । किनकि तौल बढेपछि हाम्रो शरीरमा इन्सुलिन प्रतिरोधकता पनि बढ्ने गर्छ । इन्सुलिन प्रतिरोधकता बढ्दा रगतमा इन्सुलिनको मात्रा बढ्न गई बढेको इन्सुलिनले मष्तिस्कलाई सेम्पेथेटिक नर्भ एक्टिभिटी सुरु गर्न प्रेरित गर्छ ।

यसो हुँदा कोमल मांशपेशीहरूमा सेम्पेथेटिम नर्भ एक्टिभिटी बढ्छ । फलतः उच्च रक्तचापको समस्या देखापर्छ । किनकि हाम्रो रक्तनलीको भित्री पत्र कोमल मांशपेशीले बनेको हुन्छ । यसैगरी भुँडी लाग्दा वा तौल बढ्दा बोसे तन्तुहरूबाट निस्कने हारमोनहरूले शरीरमा रेनिन-एन्जियोटेन्सिन-एल्डेस्टेरोन सिस्टमलाई पनि सक्रिय गरिदिने हुँदा रक्तचाप बढ्छ ।

हार्ट फेलियर
मुटुले शरीरलाई चाहिने जति रगत पम्प गर्न नसकेको स्थितिलाई हार्ट फेलियर भनिन्छ । भुँडी लाग्दा वा शारीरिक तौल बढ्दा मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मुटुको चाल गडबड हुने, भल्बहरू कमजोर हुने रक्तनलीहरू साँगुरिने जस्ता समस्याहरू देखापर्ने हुँदा हार्ट फेलियर हुन्छ । पुरूषहरूमा ११ प्रतिशत र महिलाहरूमा १४ प्रतिशत हार्ट फेलियर मोटोपनको कारणले हुने गर्छ ।

रक्त चिल्लो (कोलेस्टेरोल)को गडबडी
भुँडी लाग्दा वा तौल बढ्दा राम्रो कोलेस्ट्रोल (एच.डी.एल) को रक्तस्तर घट्ने र नराम्रो कोलेस्टेरोल (एल.डी.एल) को रक्तस्तर बढ्ने गर्छ ।

डीप भेन थ्रम्बोसिस
शरीरबाट मुटुमा रगत लिएर आउने भित्री शिराहरूमा रगत जम्ने रोगलाई डिपभेन थ्रम्बोसिस । यसो हुनुमा भुँडी लागेका मानिसहरूको जीवनशैली निष्क्रिय हुने हुँदा रक्तसञ्चार पनि सुस्त हुने भएकाले नशाभित्रै रगत जम्न सक्दछ । यसैगरी बढेको भुँडीले खुट्टाबाट फर्किएको रगतलाई सजिलै माथि जान नदिने भएकाले रगत नशाभित्रै जम्न सक्छ । यसैगरी तौल बढ्दा रगतको रासायनिक संरचना नै परिवर्तन हुने हुँदा नशाभित्रै रगत जम्ने प्रबल सम्भावना रहन्छ ।

सौन्दर्य समस्या
भुँडीलाग्दा र तौल बढ्दा सबैभन्दा पहिलो मार सौन्दर्यमा पर्छ । यसैगरी बोसो जम्मा भएको स्थानमा छाला तन्किएर स्ट्रेच मार्क देखिने, छालामा काला धर्सा देखिने, अनावश्यक ठाउँमा रौं आउने, घाउ, खटिरा, पिलो आउने र छालाको वर्ण, कान्ति र तेज कम हुने र पुरूषहरूमा पनि स्तन बढ्ने समस्या देखिने गर्छ ।

अम्लपित्त
भुँडीलागेकाहरूलाई अम्लपित्त बढ्ने, पेट हुडल्ने, ग्याष्ट्रिक हुने गर्छ । यसो हुनुको मुख्य कारण बढेको भुँडीले पेटलाई थिचेर उत्तेजित गर्नाले हो । यसैगरी भुँडी लाग्दा हाइटस हर्निया पनि हुन सक्छ, जसले अम्लपित्त बदाउँछ ।

पित्तथैलीको पत्थरी
तौल बढ्दा शरीर रक्तचिल्लोको गडबडी भई कोलेस्ट्रोल पनि बढ्ने हुँदा यो कोलेस्ट्रोल पित्तमा उत्सर्जित भई पित्तको पत्थरीको रूप धारण गर्नसक्छ ।

क्यान्सर
शरीरको तौल बढेसँगै अनेकौं प्रकारका क्यानसरहरू लाग्ने खतरा बढेर जान्छ । त्यसमा पनि दश सामान्य खालका क्यानसरहरू जस्तै स्तनको क्यान्सर, डिम्बासयको क्यान्सर, अन्ननलीको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, कलेजो, पित्तथैली, प्याङ्क्रियाज, आमशय, पाठेघर, पोस्टेट ग्रन्थी, मिर्गौलाको क्यान्सर, लिम्फोमा, माइलोमा आदिको उत्पत्तिमा मोटोपनको ठूलो हात छ । तौल बढ्दा क्यान्सर हुनुको मुख्य कारण कोमल अङ्गमा बोसो जम्दा बोसे तन्तुले पर्याप्त अक्सिजन नपाउँदा ती तन्तुहरूमा इन्फ्रलामेसन भइरहन्छ । यसरी कोमल अङ्गको बोसोमा इन्फ्लामेसन भइरहँदा दीघकालीन इन्फ्लामेसनको कारणले ती कोेमल अङ्गहरूको क्यान्सर हुनपुग्छ ।

दीर्घकालीन मिर्गौला रोग
मोटोपन भएकाहरूको मिर्गौलाले शरीरको मेटाबोलिक आवश्यकतालाई पूर्ति गर्नका लागि अतिरिक्त कार्य गर्नुपर्ने एवं बढी बिषाक्त रगतलाई छान्नुपर्ने हुँदा दीर्घकालीन मिर्गौला रोग उब्जिन सक्छ ।

प्रतिक्रिया सबै