बेलायतमा नर्स पठाउन समझदारी मस्यौदा तयार
काठमाडौं । नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ । रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको छ ।
शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका छन् । छलफल नेपाल र बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखिको सम्बन्ध तथा आपसी हितमा केन्द्रित थियो ।
बेलायतमा रोजगारीका लागि सुरूमा दुई हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठको भनााई छ । त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृतिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि मन्त्री श्रेष्ठले बताए ।