स्वास्थ्य र शिक्षा सेवाकै रुपमा हुनुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले स्वास्थ्य र शिक्षा सेवाकै रुपमा हुनुपर्ने बताएका छन् ।
शनिबार क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरिक्षण गर्दै उनले स्वास्थ्य र शिक्षाको व्यापार गर्न नहुने बताउँदै आधारभूत स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा जनताको घरदैलोमा लैजानुपर्ने धारणा राखे ।
२०१३ सालमा स्थापीत क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन अवलोकन तथा सेवा प्रवाहको उनले अनुगमनसमेत गरे । मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरे । अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरे ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न मेयर साहले निर्देशन दिए । अस्पतालका अध्यक्ष डा। मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै बिरामी उपचार नपाई फर्कनु नपरेको बताए ।
उनले हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै नयाँ–नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गर्ने मेयर साहको भनाई थियो ।