लिग टु : नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेसीय शृङ्खलामा नेपाल र अमेरिकाको खेल रोमाञ्चक रूपमा बराबरीमा टुङ्गिएको छ ।
पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले तीन ब्याटरको मद्दतमा दुई सय ७४ रनको योगफल तयार पारेको थियो ।
नेपालले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रननै बनायो । अमेरिकालाई जितका लागि अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो ।
बलिङका लागि नेपालबाट आदिल अन्सरि आएका थिए । अन्तिम ओभरको चार बलमै अमेरिकाले चार बलमै ५ रन बनाउँदै खेल बराबर गरेको थियो । तर, आदिलले त्यसपछिको दुई बलमा दुई विकेट लिएपछि नेपालले रोमाञ्चक रुपमा खेल बराबर गर्न सफल भएको थियो ।
बराबरीसँग नेपालले लिग २ का १४ खेलमा १३ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, चौथो स्थानको अमेरिकाले भने २२ खेलमा २१ अंक जोडेको छ ।