गाँजा औषधि बन्न सक्छ, व्यवस्थित गरौँ : शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमाले सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरेका हुन् ।
गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । ‘नेपालमा क्यासन्र जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको छ । सम्पत्ति पनि सकिएको छ । यसैगरी एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउँने अधिकार नष्ट भइरहेको छ । एड्स रोगका विरामीहरुको दिर्घ जीवनको औषधी नै गाँजा हो । यस रोगका विरामीहरुलाई तत्तकाल व्यवस्थापन गरिएन भने अझै हजारौँ विरामहरुले ज्यान गुमाउने खतरामा छन् । औषधि नपाएर मुर्नभन्दा अव विरामहरु आमरण अनसन गरेर मर्न तयार छन्’, उनले भने, ‘यसैले यो गाँजाबाट बन्ने सिबिडी र सिबिडीबाट बन्ने औषधिबाट हामिले प्राणघातक रोगहरुको उपचार गर्न सक्छौँ । यो विश्वयले अहिले प्रमाणित गरेर अगाडि आइसकेको छ । यसैले गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ, बैधानिकीकरण गरौँ ।’
गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् । ‘नेपालमा यदि दुई सय लिटरका चार ड्रम सिबिडी नेपाल ह्याच ट्रयाक गरेर, गाँजा खेती गरेर निकाल्ने हो भने म ग्यारेण्टी दिन्छु यो मुलुकको पुर्वाधार यसैले बेचेर निर्माण गर्न सकिन्छ । त्यति मात्रै होइन आज हामिलाई लागेको १६ खर्ब ऋण पनि तिर्न सकिन्छ’, उनले भने ।