१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

आगामी निर्वाचनमा एमालेसंग सहकार्य हुन सक्छ : देव गुरुङ

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । पछिल्लो समय वाम एकताको चर्चा चुलिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएपछि वाम एकताको चर्चा चुलिएको हो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले माओवादी वरिष्ठ नेता नारायणकाजी र एमाले अध्यक्ष ओली शर्माबीच बालकोटमा भएको भेटको सन्दर्भमा यस्तो बताएका हुन् ।

माओवादी प्रमुख सचेतकसमेत रहेका उनले ओली र नेता श्रेष्ठबीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि सामान्य रुपमा लिनुपर्ने पनि बताए । ‘राष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ’, उनले भने, ‘विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग मिल्दै स्थानीय तह निर्वाचनमा जानु परेको हो।’

पार्टीका वरिष्ठ नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविक रुपमा लिएको उनले प्रतिक्रिया दिए । राष्ट्रिय स्वाधीनताको सवालमा निकट विचारको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने उनको भनाई छ ।

श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच आइतवार बालकोटमा भेट भएको थियो । त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि श्रेष्ठले सोमबार भेटेका छन् ।

सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि नेपाललाई भेट्न श्रेष्ठ कोटेश्वर निवास पुगेका थिए ।

ओली र नारायणकाजीबीच झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको थियो । दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको हो ।

‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’

नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरेका छन् । तर, भेटमा भएको कुराकानीबारे भने खुलाउन चाहेनन् ।

प्रतिक्रिया सबै