प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने गरी मिति प्रस्ताव गर्ने तयारी गरेको छ । कात्तिक ३० गते वा मंसिरको पहिलो साता निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्नका लागि आयोगले आन्तरिक छलफल सुरु गरेको हो ।
आयोगले सरकारसँगको छलफल अघि आफ्नो तयारीका लागि छलफल गर्दा उक्त २ मितिको प्रारम्भिक खाका बनाएको हो । आयोगको केही दिन अघि बसेको पदाधिकारी बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मितिबारे छलफल भएको हो । कात्तिक ३० गते वा मंसिरको १० गते अघि निर्वाचन गर्नुपर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कात्तिक अन्तिम वा मंसिरको पहिलो साता गर्नुपर्ने पक्षमा रहेको छ ।
निर्वाचन आयोगले स्थानीय निर्वाचन एकै चरणमा गरेपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
विभिन्न राजनीतिक दलका भातृ संगठनहरुबाट निर्वाचनमा हुलहुज्जत तथा धाँधली हुनसक्ने सम्भावित खतरा रहेकाले उनीहरु संगठित रुपमा विभिन्न क्षेत्रमा केन्द्रित हुन नदिने गरी एकै चरणमा निर्वाचन गर्नुपर्ने पक्षमा आयोग देखिएको आयोगका एक अधिकारीको भनाई छ । एकै चरणमा गर्दा उनीहरु आफ्नो क्षेत्रमा निर्वाचन गर्न केन्द्रित हुने भएकाले एकै चरणमा नै राम्रो हुने आयोगको निष्कर्ष छ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मितिबारे छलफल गर्न एकदुई दिनमै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । आयोग स्रोतका अनुसार प्रधानमन्त्रीसँग आयोगले छलफलका लागि समय माग गरेको छ । प्रधानमन्त्रीले समय उपलब्ध गराएपछि आयोगका पदाधिकारीले छलफल गर्ने छन् । उक्त छलफलमा आयोगले आफूलाई लागेको समय सिफारिस गर्ने छ ।
७७ जिल्लामध्ये ८ जिल्लामा विद्युतीय मतदानको अभ्यास गर्नुपर्ने कुरा सरकारसमक्ष राख्ने आयोगको तयारी छ । काठमाडौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापाजस्ता साक्षरता धेरै भएका जिल्लाहरुमा विद्युतीय मतदान गराउनुपर्ने पक्षमा आयोग रहेको छ ।