विमला र एकराज सम्बन्धको अन्तरकथा

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतका श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले उनलाई पक्राउ गर्यो । तलुसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मिना र उनका छोरीमाथि आक्रमण गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार राज्यमन्त्री वलीले हातपात गरेको खबरपछि स्थानीयले बस्नेतको घरमा नै उनलाई थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले बताए ।
उनी व्यक्तिगत कामका लागि लु. १ झ. ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घरमा पुग्दा भने एकराज त्यहाँ थिएनन् । मन्त्री वली एकराजको घरमा पुगेर बाहिरबाटै ‘गेट खोल्’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन् । उनका अनुसार चिच्याएपछि गेट खोलिएको थियो ।
मीनाले भनिन्, ‘बिहानै गेटमा आएर ढोका खोल भन्दै चिच्याइरहेकी थिइन् । मैले ढोका खोलेँ । भित्र आउनासाथ मेरो श्रीमान् खोइ भन्दै कोठाको पर्दाहरु तानेर फालिदिइ । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिइन् । मेरो लुगा पनि च्यातिदिइ । अर्को कोठामा गएर स्कुल जान तयार भएको मेरी छोरीलाई पनि हानि ।’
विमला र एकराज सम्बन्धको अन्तरकथा
दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त उक्त क्षेत्रमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले माओवादी पृष्ठभूमिका प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’लाई विमलाको चुनावी कमाण्डर बनाएका थिए ।
विमलाले नेपाली कांग्रेसका केशव आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेकी थिइन् । चुनावी अभियानका क्रममा उनी अपार र प्रदेश सांसद दामा शर्मासँग निकट बनेकी थिइन् । स्रोतका अनुसार पूर्वएमालेहरूसँग टाढिएर पूर्वमाओवादीका नेता–कार्यकर्तासँग उनी बढी घुलमिल हुँदै गइन् । पूर्वमाओवादीका एकराज र विमलाको भने चुनावसम्म चिनजान थिएन ।
तत्कालीन नेकपाका नेता अपार र दामाले विमलाको आवागमनका लागि एकराज बस्नेतलाई जिम्मा थिए । एकराजसँग निजी कार थियो । एकराज निकट एक वाईसीएल कार्यकर्ताका अनुसार आफ्नो निजी गाडी चढाउने क्रममा नै एकराज विमलाप्रति आकर्षित हुन थाले ।
विमलाले स्वर्गीय पति उत्तरकुमार वलीविरुद्धको वैदेशिक रोजगारको ठगी मुद्दा पनि खेपिरहेकी छन् । सोही मुद्दाको पेसीका लागि विमलालाई सर्वोच्च अदालत धाउनुपर्ने भयो । उनै एकराजले विमलालाई आफ्नो गाडीमा हालेर काठमाडौं लगेका थिए ।
स्रोतका अनुसार काठमाडौंमा सँगै आउने क्रममा उनीहरुबीच अन्तरंग सम्बन्ध सुरु भएको हो । तुलसीपुरमा अढाई तल्लाको घर छँदाछँदै विमला घोराहीमा भाडाको घरमा बस्न थालिन् । एकराज पनि आफ्नो घरमा नगई विमलासँगै घोराहीमा बस्ने गरेको विमला निकट एक माओवादी नेतृको भनाई छ ।
यही क्रममा सिउँदोमा सिन्दूर हालेकी विमलाले आफूलाई गालामा चुम्बन गरेको तस्बिर एकराजले फेसबुकको स्टोरीबाट सार्वजनिक गरेका थिए । तर, केही बेरपछि पोस्ट उनले हटाइएको थियो । सो तस्बिरसहितको समाचारहरु मिडियामा सार्वजनिक भएको थियो ।
एकराज माओवादी कार्यकर्ता हुन् । उनी कांग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालसँग नजिक रहेको बुझिन्छ । एकराज काठको व्यवसाय गर्छन् । जंगलबाट काठ चोरी–निकासी गरेको भन्दै उनलाई वन मुद्दासमेत लागेको थियो । उनले हाल तुलसीपुर उपमहानगरपालिका वडा ९ दोघरेमा बस्नेत सःमिल चलाउँदै आएका छन् । विमलाले बताएअनुसार करिब ४ दिनअघि एकराज घरबाट निस्केका हुन् । अहिले उनको मोबाइल स्विच अफ छ ।
एकराजका एक छोरा र एक छोरी छन् । भने विमलाका पनि दुई छोरा छन् । एकराजसँग प्रेममा पर्दा विमलालाई उनी विवाहित हुन् भन्ने थाहा थियो वा थिएन भन्ने खुलेको छैन । उनीहरुको सम्बन्धबारे केहि मिडियाले समाचार सार्वजनिक गरेपछि उनीहरूले आफूहरूको चरित्रहत्या गरिएको आरोप पनि लगाएका थिए । एकराजले विमला नाताले आफ्नो दिदी पर्ने पनि बताएका थिए । अन्ततः उनीहरूको विवाहेत्तर सम्बन्ध पुष्टि भएको छ । आज विमलाले ‘मेरो एकराज खोइ’ भन्दै उनको घरभित्र घुसेर चिच्याएकी छन् । प्रहरीले उनलाई पक्राउ गरेको छ ।