२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

फिल्ममाथि मुख्यमन्त्री तामाङद्वारा प्रतिबन्ध !

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । सर्वाधिक रुचाइएको नेपाली चलचित्र ‘कबड्डी-४’ को प्रदर्शनमा सिक्किम सरकारले प्रतिबन्ध लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कबड्डी-४ को रिलिजमा रोक लगाइएको हो ।

मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, ‘विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी—४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।’

नेपालमा जेठ १३ गते रिलिज भएको कबड्डी-४ सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा जुन १७ मा रिलिज गर्ने थयारी थियो । तर, सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरू भने कबड्डी-४ को प्रदर्शनमा रोक लगाउन पर्ने माग राखेको थिए । उनीहरूले पत्रकार सम्मेलन नै गरी कबड्डी-४ को प्रदर्शनमा रोक नलगाइए हलमा हुने तोडफोड र क्षतिको जिम्मेवारी आफूहरूले नलिने बताएका थिए ।

‘चलचित्रमा दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्ण लामाहरूको आस्थामा ठेस पुर्‍याएको छ । यो वास्तवमै बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय हो । यसबारेमा सबैले आवाज उठाउनुपर्छ । हामी नेपालमा पनि यो विवाद समाधान होस् भन्ने चाहन्छौँ’, पत्रकार सम्मेलनमा सिक्किमका बौद्ध भिक्षु ओन्डी पिन्टोले भनेका थिए ।

सर्वाधिक रुचाइयो ‘कबड्डी-४’ 
कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । यो फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको हो ।

यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण भने आउन बाँकी छ ।

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ ।

भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ । ‘कबड्डी ४’ शुक्रबारदेखि भारतमा पनि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया सबै