दुई हजारभन्दा पनि तल झर्याे सेयर बजार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको विन्दुबाट तल झरेको छ । यही जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यपछि एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से डेढ वर्षपछि दुई हजार अंकको विन्दुबाट तल झरेको छ ।
साताको दोस्रो कारोबार दिने नेप्से ३६.०७ अंकले गिरावट हुँदा १९३६.२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचक पनि गिरावट भयो । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ६.४८ अंकले गिरावट हुँदा ३८३.५१ अंकमा बन्द भएको छ ।
नेप्से घट्ने क्रमले निरन्तरता पाउँदा कारोबार रकम केही उकालो लागेको छ । पछिल्ला दुई कारोबार दिन एक अर्ब पनि नपुगेको कारोबार रकम मंगलबार एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
आज कारोबार भएका मध्ये शिवम् सिमेन्टको सर्वाधिक चार करोड ५७ लाखको कारोबार हुँदा एनसीसी बैंकको तीन करोड ८० लाख र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ३४ लाखको कारोबार भएको छ ।