सुशान्तको स्मृतिमा बहिनीको मर्मस्पर्शी नोट- ‘दया, करुणा र प्रेम तपाईंका गुण थिए’

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मंगलबार निधनको दुई वर्ष पुगेको छ । सुशान्तलाई उनका प्रशंसक, साथी र बलिउड कलाकारले उनको सम्झना गरेका छन् ।
सुशान्तकी बहिनी श्वेता सिंहले मर्मस्पर्शी नोट सेयर गर्दै दाजुलाई सम्झिएकी छन् । ‘भाइले आफ्नो नश्वर शरीर छाडेको दुई वर्ष पूरा भएको छ । तर तपाईं आफ्ना मूल्यको कारण अमर हुनुहुन्छ जो तपाईं पछ्याउनुहुन्थ्यो । दया, करुणा र प्रेम तपाईंका गुण थिए । तपाईं केही मान्छेको लागि राम्रो गर्न चाहनुहुन्थ्यो’, उनले लेखेकी छन् ।
यस्तै सुशान्तकी प्रेमिका समेत रहेकी अभिनेत्री रिया चक्रवर्तीले सुशान्तसँगका चार पुराना तस्वीर सेयर गर्दै उनलाई सम्झिएकी छन् । ‘म हरेक दिन तिमीलाई मिस गर्छु । मिस यु एभ्री डे’, उनले लेखेकी छन् ।
रियाले ब्ल्याक हर्टवाला इमोजी पनि सेयर गरेकी छन् । यी सबै तस्वीरमा सुशान्त र रियाले रोमान्टिक समय बिताएको देख्न सकिन्छ ।
दुई वर्षअघि १४ जुन २०२० मा सुशान्तको ३४ वर्षको उमेरमा निधन भएको थियो । उनी मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा मृत भेटिएका थिए । उनलाई नेपाली फ्यानले पनि सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन् ।