‘कुमारी आमा’ निहारिकाको मुद्दाका आरोपित झिकाउन अदालतको आदेश

काठमाडौं । काठमाडौंमा एक सातादेखि अनसन बसिरहेकी महोत्तरी जलेश्वरका निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ ।
निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा ०७६ आश्विन २६ गते जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार खड्गराज अधिकारीका अनुसार अदालतले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकेको छ । पत्रको २१ दिन समय सीमा हुनेछ ।
समयमा आरोपित हदालतमा हाजिर नभए एकल पैरवी हुने अदालतका श्रेस्तेदार अधिकारीको भनाई छ । ‘हाजिर भए दुवै पक्षले आफ्नो वकालत राखेपछि न्यायाधीशको तजबिजमा जानेछ । न्यायाधीशले सुनवाइको प्रक्रिया अगाडि बढ्नेछ र प्रमाणको अधारमा अदालतले फैसला सुनाउने छ’, उनले भने ।
जिल्ला अदालत धनुषाले यो मुद्दा ०७८ माघ १४ गते फैसला सुनाउँदै आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । निहारिकाले आफूलाई फकाएर श्रेष्ठले बलात्कार गरेपछि गर्भ बसेको दाबी गर्दै आएकी छन् । श्रेष्ठ निहारिकाका साथीका भाइ हुन् ।
तर, निहारिकाले सुरुमा जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमान–श्रीमती रहेको र अंश पाउ भनी निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा जिल्ला अदालतका न्यायाधीश पशुराम भट्टराईले दाबी नपुग्ने फैसला सुनाएको थियो ।
निहारिका गर्भवती भएपछि फरार रहेका शिवराज गत भदौ १८ गते कानुन व्यवसायीमार्फत दुई वर्षपछि जिल्ला अदालतमा हाजिर भएका थिए । निहारिका ०७६ मंसिरमा गर्भवती भएकी थिइन् ।
६ महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणी मुद्दा दर्ता गराइएको थियो । ०७७ भदौ ५ गते परोपकारी संस्थाको रेखदेखमा निहारिकाले छोरालाई जन्म दिएकी थिइन् । अहिले उनको छोरा २१ महिनाको भइसकेका छन् ।