११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

मर्स्याङदी-काठमाडौं लाइन निर्माण सम्पन्न, उपत्यकामा २ सय मेगावाट विद्युत थपिने

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङदी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत प्रवाह गरी सञ्चालनमा ल्याइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताएका छन् ।

‘हाल चालू रहेको मर्स्याङदी–स्यूचाटार १३२ केभी सिंगल सर्किट मात्रै थियो जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत प्रवाह हुन सक्दैन थियो, मर्स्याङदी–काठमाडौलाई तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब थप करिब २ सय मेगावाटसम्म विद्युत काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

मर्स्याङदी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिसँग १६ असार २०७३ मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् । प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए ।

प्रतिक्रिया सबै