४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

प्रदेश १ को नाम भोटिङको प्रक्रियाबाट भए पनि टुंगो लाग्छ : मुख्यमन्त्री राई

 शनिबार, असार ४ २०७९  

काठमाडौैं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम चालू बजेट अधिवेशनबाटै टुंगिने दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी मोरङको आयोजनामा शनिबार विराटनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नामको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलभित्रै एक मत नभएकाले भोटिङको प्रक्रियाबाट भए पनि नामको टुंगो लगाइने बताए ।

‘सबैभन्दा ठूलो दल एमाले पनि नाम टुंग्याउने विषयमा अग्रसर देखिएको छ । यसको अगुवाइ सरकाले लिएको छ । सके सहमतिबाट, नभए भोटिङ सिस्टमबाट भए पनि नामकरणको विषय टुंगिनेछ । त्यसलाई सबैले स्वीकारेर जानुपर्छ’, उनले भने ।

उनले आगामी आर्थिक वर्ष मुख्यमन्त्री, मन्त्री र जिल्लास्थित कार्यालय निर्माणको कार्य अघि बढाइने पनि बताए । उनले भवन निर्माणका लागि बजेट विनियोजन गरिएको र विराटनगरमा मुख्यमन्त्री कार्यालय निर्माण हुने बताए ।

यस्तै मुख्यमन्त्री राईले केन्द्र सरकारले प्रदेश सरकारलाई उपेक्षा गरेको गुनासो गरे । उनले आर्थिक अधिकारदेखि कार्य क्षेत्रमा प्रदेशलाई कमजोर बनाउने काम भएको गुनासो गरे । पूँजीविनाको अर्थ मन्त्रालय, पुलिस र कर्मचारीविनाको प्रदेश सरकार छ अहिले’, उनले भने, ‘मुख्यसचिवदेखि सचिवसम्मको खटनपटन केन्द्रबाटै हुन्छ । केन्द्रले अधिकार नदिएर प्रदेशलाई उपेक्षा गरेको छ ।’

प्रतिक्रिया सबै