कृषकलाई बाख्रा र बङ्गुर पालनमा प्रोत्सान गर्दै सुनसरीको कोसी गाउँपालिका

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ का मुन्नी मरिक उन्नत जातको बङ्गुरपालनमा कम्मर कसेर लागेका छन् ।
त्यस्तै, कोसी गाउँपालिका–५ का महावती सदाले पनि बाख्रापालन गर्दै आएका छन् । स्थानीय जातको बाख्रापालन गर्दै आएका सदाले बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै भएपछि समस्यामा छन् ।
स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ । कोसी गाउँपालिका–५ का रुवि सदाको अवस्था पनि ललिताकोभन्दा कम थिएन । स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उनी अन्य पेशाको खोजीमा थिए ।
पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन् । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका–१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी–५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिएका छन् ।
तालिम प्राप्तसमेत गरेका उनीहरुले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । ‘अध्यक्ष कृषि आधुनिकीकरण योजना’बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ ।