६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सक्ने आयोगको निष्कर्ष

 आइतवार, असार ५ २०७९  

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सक्नेगरी निष्कर्ष निकालेको छ । आन्तरिक तयारी थालेको आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरेको हो ।

शीर्ष नेताहरुले भने कात्तिक अन्तिम साता वा मंसिरमा निर्वाचन हुने बताईरहेका छन् । निर्वाचन आयोगले पनि सरकारसँग कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी छलफल गरेको छ । निर्वाचनको मितिबारे ठोस निर्याय नभए पनि कात्तिक २७ गते निर्वाचन गर्न आयोग तयार भएको हो । निर्वाचन आयोगका एक पदाधिकारीका अनुसार आयोगले केही दिनमा नै औपचारिक रुपमा मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।

एकै चरणमा निर्वाचन गर्न सकिने आयोग निष्कर्षमा पुगेको हो । सोहीअनुसार सरकारलाई प्रस्ताव गर्ने आयोगतको तयारी छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोग निर्वाचनका लागि तम्तयार भएको छ । सरकारसँग औपचारिक छलफलपछि मात्र मिति टुंगो लाग्ने उनको भनाई छ ।

‘सरकारसँग औपचारिक कुराकानी भएको छैन । निर्वाचनका लागि आयोग तम्तयार छ । एकै चरणमा गर्ने कुरा भए मंसिरको पहिलो साता गर्ने । एकै चरणमा गर्नका लागि चुनौती देखिए कात्तिकको अन्तिम साता र मंसिरमा गर्ने आयोगको सोचाइ हो’, उनले भने । आयोगका पदाधिकारीहरूले भने मंसिर १० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यता रहेको बताउँछन् । आयोगले सरकारसँग मिति प्रस्ताव गरेपछि सरकारले निर्वाचनको मिति तोक्ने छ ।

प्रतिक्रिया सबै