९ बैशाख २०८१, आईतवार Sunday 21 April, 2024

प्रतिगमनकारीहरुले यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको छ : माधव नेपाल

 आइतवार, असार ५ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पार्ने चलखेलमा लागिरहेको बताएका छन् । आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनकारीहरुले अहिलेको व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको भन्दै आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए ।

कार्र्यक्रममा अध्यक्ष नेपालले भने, ‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ । तर यो किमार्थ सम्भव छैन ।’ राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए । संघीयता समस्या नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ । ‘संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको कुरा हो । कामको तरिका र दृष्टिकोणको समस्या हो’, अध्यक्ष नेपालले भने ।

राजनीतिक पार्टी, नागरिक समाज र मिडियाले यस्ता समस्याका बारेमा सरकारलाई दबाब दिनुपर्ने उनको भनाई छ । भ्रष्टाचार र गैरजिम्मेवार प्रवृतिको बिरोध गर्नुपर्ने भन्दै मूल्य बृद्धिको चपेटामा जनता परेको उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘तेलको फेरि पनि मूल्य बृद्धि गर्नुपर्छ भन्ने आजै पनि कुरा आयो । तर हामीले जनतालाई कसरी राहत दिन सकिन्छ ? जनताको पीर मर्कालाई राज्यले सम्बोधन गर्नुपर्छ । जनताका समस्याका बारेमा गठबन्धनमा छलफल हुनुपर्छ भनेर मैले पटक पटक भनेको छु ।’

प्रतिक्रिया सबै