मूल्यवृद्धि रोक्न प्रतिपक्षी र सत्तारुढ दलका सांसदले गरे सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । उक्त मूल्यवृद्धिलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेको छ ।
यसबीच सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा जनता मारमा परेको भन्दै सांसदहरूले विरोध जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले मूल्यवृद्धि रोक्न सरकारको ध्यानाकर्षण गराएको हो । सांसदहरुले सातामै दुई पटकसम्म मूल्यवृद्धि गरेको र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अन्य वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारलाई मूल्यवृद्धि नियन्त्रणमा राख्न माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका साथै सरकारमा रहेका दलका सांसदहरूले सरकार मूल्यवृद्धि रोक्न चुकेको आरोप लगाए । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जनतालाई मूल्यवृद्धिबाट राहत दिन माग गरे । पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने भन्दै उनले भने, ‘हालै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । यो मूल्यवृद्धि घटाएर विकल्पको व्यवस्था गर्नुपर्छ । पेट्रोलियम पदार्थको अविलम्ब विकल्प व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले खाना पकाउनका लागि जनतालाई सस्तोमा विद्युत् उपलब्ध गराउन माग गर्दै, सरकारको गलत नीतिका कारण पनि मुलुकमा इन्धनको मूल्यवृद्धि भएको र जनता मारमा परेको बताए । ‘भारतले १५-१५ दिनमा इन्धनको मूल्य बढाएर पठाएको छ । इन्धनसँगै खाद्यान्न र अन्य वस्तुको मूल्य बढिरहेको छ । पाँच दलको गठबन्धन सरकारले प्रतिलिटर पेट्रोलको मूल्य १७८ बाट १९९ र डिजेल र मट्टितेल १६५ बाट १९२ रुपैयाँ पुर्यायो,’ उनले भने । ‘बिजुली भारतमा दिन रोक्नुपर्यो । नेपालीलाई खाना पकाउन सस्तोमा दिन जरुरी छ । अमेरिकी सरकारले युक्रेनमा रुसविरुद्ध युद्ध गरेको हुँदा इन्धनको मूल्य र विश्वव्यापी रूपमा खाद्य संकट भएकोबारे सरकार सचेत भएको देखिएन । पाँच दलको गठबन्धन सरकारले संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मत दिएकोले पनि यो मूल्यवृद्धि भएको हो ।’
त्यस्तै, एमाले सांसद दामोदार भण्डारीले काठमाडौंबाट दुबई जानुभन्दा काठमाडौंबाट धनगढी जानु महँगो परिरहेको बताए । ‘मूल्यवृद्धि आकासिएको छ । पेट्रोलको भाउ एक महिनामा ४ पटक बढेको छ । काठमाडौं–दुबईको भाडा १४ हजार छ भने काठमाडौं–धनगढीको भाडा १५ हजार पुगेको छ’, उनले भने ।
एमालेकै सांसद नविना लामाले मूल्यवृद्धिले जनतालाई चुलो बाल्न गाह्रो पारेको बताइन् । उनले भनिन्, ‘सरकारले जनताको मूल्यवृद्धि ढाड सेक्नेगरी बढाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले निमुखा जनताको घरमा चुलो बाल्न गाह्रो परेको छ ।’
एमालेका सचिवसमेत रहेकी सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरिन् । मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो । ‘यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ?’ भनेर सरकारलाई प्रश्न गरिन् ।
एमालेले मूल्यवृद्धिबारे सरकारले जवाफ नदिए सदन अवरुद्ध गर्ने भनेपछि त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् । सभामुखले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका थिए । ‘माननीय सदस्यहरूले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेस गर्न निर्देश गर्दछु’, सभामुखले भनेका थिए ।