असार मसान्तभित्र एसइई नतिजा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा राष्ट्रिय परीक्षा बोर्डले यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताएका छन् ।
कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।
दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिएका छन् ।