१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

भैरहवाबाट सस्तो भएपछि बढ्यो विदेश जाने यात्रुको चाप

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । एक महिनाअघि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीको चाप बढेसँगै थप दुई विदेशी विमान कम्पनीहरुले सेवा थप्ने तयारी गरेका छन् ।

कुवेतबाट जजिरा एयरले सेवा सुरु गरेसँगै यहाँबाट उडान भर्नेहरुको चाप बढेको छ । यो चापलाई हेरेर थप दुई विदेशी वायुसेवा कम्पनीहरुले तत्काल नियमित उडान थाल्ने तयारी सुरु गरेका छन् ।

आफ्नो क्षेत्रबाट विदेश जान र आउन पाएपछि यहाँबाट सेवा लिनेहरु खुसी छन् । काठमाडौं आएर घर आउने समयको व्यवस्थापन र खर्चलाई ध्यानमा दिँदै धेरैजना यहाँबाट आफूले सेवा लिएको बताएका छन् ।

हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ छ । भैरहवा–कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६ हजार ६०० रुपैयाँ कम (२६४०० रुपैयाँ) मा सेवा दिँदै आएको जनाएको छ ।

विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ । जसले गर्दा उडान शुल्कसमेत सस्तो भएको छ । जजिराका अनुसार काठमाडौं कुवेत भन्दा भैरहवा कुवेतको यात्रामा प्रति व्यक्ति ८ हजार सस्तो छ ।

शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेशसम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन् । श्रम तथा रोजगार शाखा संचालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ । जसका कारण भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि रोजाइमा परेको छ ।

प्रतिक्रिया सबै