डुम्रे-बेँसीशहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीशहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।
उदीपुरमा पहिरोको विकल्पमा पहिरो तल मर्स्याङ्दी किनारबाट सडक निर्माण गरि बुधबार साझ साढे ७ बजेबाट सडक सुचारु गरीएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
उनका अनुसार पहिरो तल मर्स्याङ्दी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिएको छ । आइतबारदेखि साना सवारीहरू मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठुला सवारीसाधन आवतजावत गर्न सकेको थिएन ।
ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने पहिरो युक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राती र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरीएको छ । उदीपुरमा वर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ ।