सगरमाथा चढेकी दीयाले भनिन्- मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ

काठमाडौं । अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी हुन् । उनी सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् ।
गत जेठ १३ गते बिहान उनले ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरोमा पुगेकी थिइन् ।
अभिनेत्री दीया पुनले सगरमाथा आरोहणका क्रममा भोग्नुपरेका विभिन्न पीडा सेयर गरेकी छन् । बिहिबार आफ्नो सामाजिक सञ्जालमा सगरमाथा आरोहणका क्रममा डढेको अनुहारको सेल्फी पोस्ट गर्दै उनले समस्याबारे बताएकी हुन् ।
दियाले लेखेकी छन्, ‘ सायद निद्राको कमी, डिहाइड्रेशन, हावा र घामको सम्पर्कपछि होला, छालामा रातो, सुख्खा र गाढा धब्बा देखिएका छन् । क्याम्प टुमा पहिलो रोटेशनमा जाँदै गर्दा मात्र मैले आफ्नो अनुहार राम्रोसँग ढाक्न सिकेँ । तर जब तपाईं अत्यधिक थाक्नुहुन्छ नि त्यतिबेला तपाईंले सोच्ने अन्तिम कुरा भनेको आफ्नो छालालाई चरम अवस्थाबाट जोगाउनु हो । चिपिक्क परेको कपाल, पछिल्लो पटक कहिले नुहाएको थिएँ भन्ने कुरा बिर्सिएको थिएँ । तर यी सबै कठिनाइका बावजुद यदि तपाईंले मेरो आँखामा हेर्नुभयो भने तपाईंले पहाड चढ्दाको आनन्द देख्नुहुनेछ ।’
दीया अभिनित फिल्म मन्त्र जेठमै रिलिज भएको थियो भने उनको नयाँ फिल्म अन्तिम संस्कार छायांकनको तयारीमा छ ।