संसद्मा न्यायाधीश-अधिवक्ता अडिओ प्रकरण प्रवेश

काठमाडौं । न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरणको विषयले संसद्मा पनि प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् ।
सांसद सिटौलाले उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको भन्दै राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाईन् ।
उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमुक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन् ।
यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको भनाई थियो । त्यस्तै सांसद गजेन्द्रबहादुर महतले न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको टिप्पणी गर्दै यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न नहुने बताए ।