छालाको समस्याबाट कसरी बच्ने ?

काठमाडौं । छाला भनेको शरीरको ऐना हो । शरीर कति स्वस्थ र तन्दुरुस्त छ भन्ने कुरा उसको छालाको अवस्थाले देखाउँछ ।
हाम्रो खानपान, जीवनशैली आदिको प्रत्यक्ष प्रभाव छालामा देखिन्छ । छाला स्वस्थ हुनु वा नहुनुमा यी कुरा जिम्मेवार छन् । त्यति मात्र होइन, हाम्रो मानसिक स्थितिले पनि छालालाई प्रभाव पार्छ । चिन्तामुक्त वा सकारात्मक सोच–चिन्तनले छालालाई स्वस्थ बनाउन भूमिका खेल्छ ।
हावापानी वा भनौं मौसमको असर पनि छालामा देखिन्छ । जस्तो, सुख्खायाममा एक किसिमको छालाको समस्या देखिन्छ भने वर्षायाममा अर्कै किसिमको छालाको समस्या देखिन्छ ।
वर्षायाममा छालाको रोग
यो मौसममा छालामा विभिन्न किसिमका समस्या देखिन्छ । हातगोडामा रिङवम आउने, एलर्जी (एक्जिमा) अर्थात् छाला रातो हुने, सुन्निने र फुल्ने हुन्छ । आँखाले देख्न नसक्ने किटाणुको संक्रमणले छाला बेस्सरी चिलाउने, पोल्ने, फोका निस्किने, दाद लगायतका विविध समावेशले सताउने गर्छ ।
वर्षायामको मौसम मिश्रित खालको हुन्छ । कहिले चिसो त कहिले पोल्ने गर्मी । पानी परेको समयमा तैलिय छाला भएका मानिसको छाला धेरै नै तैलिय हुने त्यस्तै सुख्खा छाला पनि बढी सुख्खा हुन्छ । प्र्रतिकूल मौसम भइदिंदा छालालाई छिटो प्रभावित पार्छ । फङ्गस, ब्याक्टेरियाले छालामा विभिन्न समस्या उत्पन्न गराइदिन्छ ।
नेपालीमा छाला रोगको समस्या
छालाको समस्या उमेर समूह अनुसार फरक हुने गर्छ । किशोरकिशोरीमा डण्डीफोर देखिनु, वयस्क व्यक्तिमा चायापोतो, दुबी जस्ता समस्या देखिन्छन् । पछिल्ला वर्षमा कोरोना संक्रमणबाट जोगिन हामीले स्यानिटाइजर दल्ने, मास्क लगाउने कार्य अनिवार्य गर्छौं । यसले पनि छालामा एलर्जी र डण्डीफोरको समस्या बढाएको छ ।
तनावले छालामा समस्या ल्याउँछ
छाला रोगको प्रमुख कारण तनाव नै हो । व्यस्त जीवनशैली, भागदौड र तीव्र प्रतिस्पर्धाको अहिलेको समयले तनाव सिर्जना गर्छ । मानिस तनाव हुँदा मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो हुन सक्दैन । यी नै मुख्य कारण हुन् ।
छालाको समस्याबाट बच्न के गर्ने ?
छालाको समस्याबाट बच्न तनाव व्यवस्थापन पहिलो सर्त हो । यसका लागि ताजगी रहन कोशिश गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन खाने, फलफूलमा जोड दिनुपर्छ । यस्तै विज्ञापनमा देखेको भरमा कुनै पनि क्रिम लगाउनुहुँदैन ।
क्रिम छनोट गर्दा आफ्नो छालाको प्रकृतिअनुसार गर्नपर्छ । अनिवार्य सनब्लक क्रिम लगाएर मात्रै घाममा निस्कनुपर्छ । छालामा केही समस्या देखिने बित्तिकै छालारोग विशेषज्ञको परामर्श लिनुपर्छ ।