११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

टेलिकमले घटायो इन्टरनेटको भाउ

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो ।

असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले रु. २,५०० रहेकामा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः रु. २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महसुल दर रु. १,५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल रु. २,७०० रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४०० रहेकोमा अब रु. २,१०० र १०० एमबीपीएस भन्दा बढीको रु. २,१०० रहेकोमा अब रु. १,८०० कायम गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया सबै