भक्तपुरले ल्यायो सवा २ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं । भक्तपुर नगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले बजेट भाषणमा बाह्य स्रोतबाट १ अर्ब ६४ करोड, आन्तरिक ४६ करोड रुपैयाँ ब्यहोरिने उल्लेख गरेको छ ।
त्यस्तै, नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । शिक्षा तथा संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३ प्रतिशत) विनियोजन गरिएको छ ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत ८ करोड, वडा वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार (४.९५ प्रतिशत) विनियोजन गरिएको छ । नगरपालिकाभित्रका सम्पदाहरु जोगाई नयाँ पुस्ता हस्तान्तरण गर्नकोलागि सम्पदा संरक्षणमा ९ करोड (४.१२ प्रतिशत) विनियोजन गरिएको छ ।
भौतिक पूवार्धार निर्माणका लागि ३९ करोड ४८ लाख (१८.०७) विनियोजन गरिएको छ । फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा १३ करोड ५० लाख (६.१८ प्रतिशत) विनियोजन गरिएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ५१ करोड ६८ लाख रुपैयाँ (२३.६६ प्रतिशत) विनियोजन गरिएको छ । युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपयौ विनियोजन गरिएकोछ। कृषि एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैया विनियोजन गरिएको छ ।
प्रशासनिक व्यवस्थापनको लागि ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ । वित्तीय तर्फ ४ करोड ६० लाख विनियोजन गरिएको छ । भक्तपुर नगरपालिकाको चालु आ.व. को लागि कुल बजेट १ अर्ब ९३ करोड २० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ आम्दानी जम्मा १ अर्ब १४ करोड ६० लाख (५९.३२ प्रतिशत) भएको छ ।