१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

अमेरिकाले नेपालमा चीन विरोधी गतिविधि गर्ने योजना बनाएको छ : वामदेव गौतम

 शनिबार, असार ११ २०७९  

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर नेपालको भूमि प्रयोग गरी चीन विरोधी गतिविधि संचालन गर्ने अमेरिकी योजना रहेको आरोप लगाएका छन् ।

शनिबार लिलितपुरमा नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो भेलामा प्रस्तुत राजनीतिक प्रस्तावमा नेता गौतमले नेपालको भूमि प्रयोग गरी तिब्बतलाई स्वतन्त्र गर्न चीन विरोधी गतिविधि संचालन गर्ने अमेरिकी योजना रहेको आरोप लगाएका हुन् ।

एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि काम गर्ने अमेरिकी सेनाको योजना रहेको दावी गर्दै नेकपा एकता राष्ट्रिय अभियानका नेता नेता गौतले एमसीसी र एसपीपी अमेरिकाले पहिले नै अगाडि बढाइसकेका योजना सैनिक गठबन्धनसँग सम्बन्धित भएको पनि बताए ।

‘अमेरिकी सेना आयो भने पहाड, हिमाल सबैतिर जान्छ । त्यसको काउन्टरमा चीन पनि आउँछ । त्यसपछि हामी नेपाली कति मर्छौं मर्छौं।’ तर अमेरिकी सेनाको सो प्रयासलाई कम्युनिष्टहरुको शक्तिले असम्भव पार्ने उनले बताए । ‘एसपीपी रद्द गर्न कम्युष्टिहरुको दवावले मात्र सम्भव बनाएको हो’ नेता गौतमले भने । नेपाली सेना नेपाली जनताको भावना विपरित जान नसक्ने गौतमको दावी छ । एमसीसी र एसपीपी अमेरिकी सेनाको कार्यक्रम रहेको र त्यसमा नेपाली सेनाले गठबन्धन गर्न नहुने उनको भनाई थियो ।

‘एसपीपी लागु भए नेपाल युद्ध भूमि बन्छ’
नेता गौतमले शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेलामा राष्ट्रघाती काम हुने गरेको बताए । ‘एमसीसी, एसपीपी मुलुकका लागि राष्ट्रिघाती कार्यक्रम हुन्’ गौतमले भने, ‘एसपीपी लागु भए अमेरिकी सेना आउँछ। त्यसपछि नेपाल युद्ध भूमि बन्छ।’

कम्युनिष्टहरुको दवावमा सरकारले अमेरिकासँगको सैन्य गठबन्धन ‘स्टेट पार्टनरसिप पोग्राम (एसपीपी)’ रद्द गरेको नेता गौतमको भनाई थियो । कम्युनिष्ट शक्तिहरुको दवावमा मात्र नेपाली सेना र अमेरिकी सेनाबीच भएको एसपीपी सम्झौता मन्त्रिपरिषद्ले रद्द गरेको बताए । ‘एसपीपी अमेरिकाको सैन्य गठबन्धन हो, त्यसमा नेपाली सेना सहभागी हुन सक्दैन’, उनले भने, गौतमले कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको बताए । एमसीसी र एसपीपी दुवै कार्यक्रम अमेरिकको इन्डोप्यासिफिक रणनीति अन्तरगत भएको गौतमले दावी गरे ।

‘नेकपा जोगाउन सकिन्थ्यो, मैले पनि गल्ती गरेकै हो’
गौतमले नेकपा विभाजन भएकोमा पश्चातप गरेका छन् । नेता गौतमले आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गरे । आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासो गर्दै नेता गौतमले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु । वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो। यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो। म आत्मालोचित भएको छु।’

नेता गौतमले तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने बताए । ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ’, नेता गौतमले भने ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको उनको भनाई छ । ‘हामीभित्र मतभिन्नताहरु हुन सक्छन्, ती मतभिन्नताहरु आवश्यक छलफल नगरी, समाधानको प्रयत्न नभई एकाएक एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव,’ उनले भने, ‘त्यसको जवाफमा संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने घटनामा हामी सहमत हुन सकेनौं। मेरो विचारमा कोहीपनि सहमत हुन नपर्ने हो ।’

यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई दबाब दिएर एमसीसी सम्झौता संसद्‍बाट पारित गराएको बताए । ‘कांग्रेसलाई मात्र नेतृत्व सुम्पने हो भने नआउनुपर्ने एमसीसीजस्ता कार्यक्रमहरू आउँछन् । एमसीसी पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाका पालामै तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गर्नुभयो । अहिले पनि गठबन्धनका पार्टीलाई उहाँले दबाब दिनुभयो । त्यसपछि प्रचण्ड पनि प्रचण्ड रहनु भएन उहाँ पुष्पकमल दाहाल मात्र रहनु भयो । माधव नेपाल पनि खुट्टा कमाउन्नँ भन्नुहुन्थ्यो तर त्यसो भएन’, उनले भने ।

प्रतिक्रिया सबै