८ फाल्गुन २०८०, मंगलवार Tuesday 20 February, 2024

निर्वाचनमा काठमाडौं-६ बाट प्रतिस्पर्धा गर्ने अब्दुस मियाँको घोषणा, यस्ता छन् मुख्य एजेन्डा

 शनिबार, असार ११ २०७९  

काठमाडौं । युवा नेता अब्दुस मियाँले प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–६ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रममार्फत उमेदवारी घोषणा गरेका हुन् ।

उनी यसअघि विवेकशील साझा पार्टीको युवा संगठनका संयोजक थिए । दल त्याग गरेर स्वतन्त्र हैसियतमा उमेदवारी दिने उनले बताए ।

‘प्रतिनिधिसभामा सक्षम र स्वतन्त्र युवा कानुन निर्माताका रूपमा सहभागी हुनुपर्छ भन्ने मेरो उद्देश्य हो’ अब्दुसले भने, ‘म देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाटै सक्षम युवालाई उमेदवारी दिन आह्वान गर्न चाहन्छु ।’

उनले आफ्ना मुख्य एजेन्डाका रूपमा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावलाई अगाडि बढाउन पहल गर्ने, गरिखाने उद्यमशील समाज बनाउनका निम्ति नीतिगत, ब्युरोक्यार्टिक र प्रशासनिक झन्झटलाई हटाउने, ग्लोबल वार्मिङ, यूबीआईलगायत विषयलाई संसद्मा बहसको विषय बनाउने बताए ।

उनले संसद् विकास कोषलाई ‘करेक्सन’ गर्दै ‘पोलिसी डेडिकेसन’को माध्यमबाट सामुदायिक शिक्षालयको पुनःसंरचना गर्दै अगाडि बढाउन भूमिका खेल्ने र सरकारलाइ जनताप्रति थप उत्तरदायी बनाउन संसद्लाई नागरिक सर्वोच्चताको अभ्यास गर्ने थलो बनाउने जस्तो योजना रहेको बताए ।

प्रतिक्रिया सबै