घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यलाई ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिने निर्णय गरेको हो । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो ।
शनिबार (आज) बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूबीचको सहमतिअनुसार उद्योग मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच बसेको बैठकले तत्काल मूल्य समायोजन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै उद्योग मन्त्रालयले आजैदेखि मूल्य घटाइएको हो ।
मन्त्री बडूले आफूले गरेको घोषणा अनुसार डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ नै लागू हुने घोषणा गरेका छन् । उक्त घोषणाअनुसार निगम डिजेल र मट्टितेलको मूल्य २९ रुपैयाँ घटाउन सहमत बनेको हो ।