म राजनीतिबाट बाहिरिएको छैन : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताएका छन् ।
आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको थाहा पाएपछि उल्लेख गर्दै मिश्रले आफूले अध्यक्षबाट मात्रै राजीनामा दिएको बताएका हुन् ।
‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु ।’
उनले राजनीतिको आफ्नो लक्ष्य देशको दूरगामी हित रहेको उल्लेख गर्दै त्यसका लागि आफू मन्थनमा रहेको उल्लेख गरेका छन् । ‘राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’, मिश्रको भनाइ छ ।