१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

संघीय संसदबाट लोक सेवा विधेयक पारित

 आइतवार, असार १२ २०७९  

काठमाडौं । लोक सेवा आयोगसम्बन्धी विधेयक संघीय संसदले पारित गरेको छ । भदौ २५ गते, २०७६ मा प्रतिनिधिसभामा पेश भएको यो विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको थियो ।

आइतबार प्रतिनिधिसभाले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई स्वीकारेको हो । कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभामा उत्पत्ति (पेश) भएको विधेयकलाई पारित गरेर पठाएको भए पनि राष्ट्रिय सभाले गरेकोसंशोधनलाई प्रतिनिधिसभाले फेरि स्वीकार गर्नुपर्ने हुन्छ । आइतबार यही व्यवस्थाअनुसार प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाले गरेको संशोधनलाई स्वीकार गरेको हो ।

योसँगै लोक सेवा आयोगसम्बन्धी विधेयक संघीय संसद (दुबै सदन)बाट पारित भएको छ । संसद भित्रको कानुन निर्माणको प्रक्रिया पनि पूरा भएको छ । अब सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

लोक सेवा आयोगसम्बन्धी विधेयक संघीयतासँग समेत जोडिएको विधेयक हो । यो विधेयक लागू भएपछि प्रादेशिक लोक सेवा आयोगले संवैधानिक रुपमा प्राप्त अधिकार प्रयोग गर्न पाउनेछन् । प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने लगायतका अधिकार प्रदेश लोक सेवा आयोगले राख्दछ ।

प्रतिक्रिया सबै