११ फाल्गुन २०८०, शुक्रबार Friday 23 February, 2024

विनोध चौधरी नवलपुर-२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा

 आइतवार, असार १२ २०७९  

काठमाडौं । उद्योगपती विनोध चौधरीले नवलपुर—२ बाट संघीय निर्वाचनमा उम्मेदारी दिने भएको छ । कांग्रेस नेता शशांक कोइरालेले नवलपुर १ बाट चुनाव लड्दै आएका छन् । यसैकरण उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको हो ।

नवलपुर १ का मतदाता रहेको उनले यस क्षेत्रमा चुनाव हार्ने संकेत पाएपछि क्षेत्र नम्बर २ मा इच्छा देखाएको बुझिन्छ । उनले २०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको बताएका छन् ।

शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो कांग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीको भनाई छ । नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउने नचाहेको उनको भनाई थियो ।

समानुपातिक सांसद हुँदै आएका उनले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताएका थिए । प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उनले अब समानुपातिकमा नबस्ने उनको भनाई छ ।

सक्रिय राजनीतिमा आउन चाहेका उनी नवलपुर –२ को टिकट प्राप्त गर्नेमा पूर्ण आशावादी रहेको बताए । ‘नवलपुर–२ मा कांग्रेस हार्दै आएको ठाउँ हो । त्यो क्षेत्र पनि मेरा लागि उपयुक्त नै हुन्छ’, चौधरीले पत्रकारहरुसँग भने, ‘सक्रिय राजनीति गर्नकै लागि वडा वडामा पुगेको छु ।’

पार्टीमा संस्थापन पक्षका चौधरी टिकट प्राप्त गर्नेमा ढुक्क जस्तै देखिएका छन् । यस क्षेत्रमा दाबी गर्ने केन्द्रीय तहका नेता अन्य नभएकाले पनि उनका लागि थप सहज देखिएको छ ।

नवलपुर २ मा गत निर्वाचनमा एमालेका तिलबहादुर महत क्षेत्री विजयी भएका थिए । उनले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रमा बौदीकाली, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका सहित मध्यविन्दु नगरपालिका र कावासोतीका नगरपालिकाका ३, १४, १५, १६ र १७ वडा पर्दछन् ।

प्रतिक्रिया सबै