१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

एमालेप्रति लक्षित गर्दै प्रचण्डले भने- ‘एकथरीलाई संघीयता नै खारेज गर्न पाए हुन्थ्यो भन्ने देखिन्छ’ (भिडियो)

 सोमवार, असार १३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम ऐन बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद : चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान बमोजिम थुप्रै ऐनहरू बनाउन बाँकी भएको बताउँदै सबै ऐनहरू निर्माण भएमा जनताले धेरै परिवर्तनको अनुभूति गर्न पाउने बताए ।

दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाई थियो । प्रचण्डले एकथरी शक्तिलाई संघीयता र समावेशी समानुपातिक प्रणाली मन नपरेको बताए । ‘एक थरीलाई संघीयता र समावेशी समानुपातिक मन परेको छैन । त्यो प्रवृत्ति कहीं न कहीं यो संविधानलाई खारेज गर्न पाए वा संघीयता नै खारेज गर्न पाए हुन्थ्यो भन्ने देखिन्छ’ प्रचण्डले भने, ‘ती शक्तिहरूलाई संविधान बमोजिम ऐनहरू निर्माण गर्ने जनतालाई यो परिवर्तनको प्रतिफल दिनेगरी काम गर्ने रुचि छैन । त्यसैको परिणाम गतवर्ष संसद विघटन भोगियो । त्यसैको प्रतिबिम्ब हो ।’

प्रचण्डले भने, ‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं । एक खालको बहुदलीय व्यवस्थाको स्थापना भयो । शान्ति सम्झौता वरिपरि गरिएका संयुक्त आन्दोलनबाट धेरै परिवर्तन भए । यी सबै परिवर्तन संविधानसभा निर्वाचनपछि संविधानमार्फत स्थापित गर्ने काम भयो,’ प्रचण्डले भने, ‘तर, अहिले दलहरूको ऐतिहासिक महत्व कम हुनेगरी ब्याख्या गर्न थालियो । केही पनि भएन हामी पहिला जहाँ थियौ त्यहीँ छौ जनताले केही पाएका छैनन् । अहिले केही पनि पाएका छैनन् भन्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको अपमान हो । जनयुद्ध र जनआन्दोलनको अपमान हुन्छ ।’

प्रचण्डले कम्युनिस्टहरू बिग्रिए संसारकै सबैभन्दा काम नलाग्नेमा परिणत हुने पनि बताए । ‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । धैर्यतापूर्वक विश्लेषण गर्छन् । तर बिग्रेपछि कम्युनिष्टजति खराब कोही पनि हुँदैन । अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन । अण्डा जति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छन्’, उनले भने ।

प्रचण्डले संविधान र समाजवादलाई सफल बनाउन वाम गठबन्धन र पार्टी एकता गरे पनि सबै प्रयास केपी शर्मा ओलीका कारण बरबाद भएको बताए । ‘कम्युनिस्टहरू राम्रा हुन्छन् भनेर एकता गरेको त आफ्ना सहयोद्धालाई देखि नसहने, बैठक, छलफल बहस गर्नै नपर्ने । भ्रष्टाचारको पराकाष्ठा केपीजीकै पालामा भयो’, प्रचण्डले भने । मुलुकको अर्थतन्त्रमा देखिएका असरको जिम्मेवार ओली नेतृत्वको अघिल्लो सरकार भएको आरोप लगाए ।

शोधनान्तर घाटाको आजको स्थिति ओली र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाका कारण सिर्जित भएको बताए । ‘मेरै अगाडि एमालेका शंकरजीले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्नुभयो । मेरो अगाडि त्यसो भन्न मिल्छ रु शोधनान्तर घाटाको आज जे स्थिति छ त्यसको प्रणेता केपी ओली र युवराज खतिवडा हुन्’ , प्रचण्डले भने ।

भिडियो

प्रतिक्रिया सबै