वामदेव गौतमद्वारा नयाँ पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा, सचिवालयमा को-को छन् ?

काठमाडौं । वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत नेता गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नामको नयाँ पार्टी घोषणा गरेका हुन् ।
घोषित नयाँ पार्टीमा वामदेव आफैं संयोजक छन्। उनले डीबी कार्कीलाई सचिव तोकेका छन् । यस्तै, सचिवालय सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्।
सचिवालयमा अर्का एकजना सदस्य पछि थपिने प्रचार विभाग प्रमुखसमेत रहेका निमकान्त पाण्डेले बताए । उनका अनुसार वामदेवको केन्द्रीय कमिटी ७४ सदस्यीय हुने छन् ।
गौतमको पार्टीले अन्य पार्टीहरूसँग एकता सम्वादका लागि आफ्नै संयोजकत्वमा समिति बनाएका छन्। गौतमको संयोजकत्वमा रहने वार्ता टोलीमा सचिवालयका सदस्यहरुलाई राखेर टोली बनाइने भएको छ ।
पार्टीको आन्तरिक कार्यक्रम अन्तर्गत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संग सामुदायिक संगठन र पेशागत संगठन पनि निर्माण गरिने जनाइएको छ । यो पार्टी समन्वय समितिका रुपमा रहँदासम्मका लागि केन्द्रीय सचिवालय बनाउने घोषणा गरिएको हो ।
‘कांग्रेस सत्तामा हुँदा विकासको नाममा जे पनि गर्ने अवस्था देख्यौं’
गौतमले आफूले पार्टीको जग हालेको ठाउँमा अहिले ठूला नेता रहका बताए । आफ्नो सिंगो परिवार नै आन्दोलनमा लागेको उनको भनाई थियो ।
‘मेरो श्रीमती र छोरा केन्द्रीय कमिटीमा हुनुहुन्छ। सिंगो मेरो परिवार आन्दोलनमा लागेका छन्। कठिन परिस्थितिमा पनि लागेका छन्’ गौतमले भने, ‘२०२६ सालदेखि म व्यक्तिगत इच्छा पूरा गर्न भूमिगत भएर हिँडेको छु। मैले पार्टीको जग हालेको ठाउँमा ठुला नेता रहेका छन्।’
तत्कालिन नेकपा विभाजन भएर एमाले र माओवादी अलग भएदेखि नै पार्टी एकताका लागि अभियान सञ्चालन गर्दै आएका गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक छुट्टै पार्टी घोषणा गरेका गौतमको पार्टीको संयोजक वामदेव गौतम, सचिव डिबी कार्की, केन्द्रीय सदस्यहरुमा ओम शर्मा चालिसे, डिल्लिराज भट्टराई, दुर्गा भन्डारी, निमकान्त पान्डे, भगवती विस्ट, युवराज सफल लगायत छन् ।
‘नेपाली कांग्रेस सत्तामा रहेको बेला विकासको नाममा जे पनि गर्ने अवस्था देख्यौँ। नेपाली कांग्रेस सही किसिमले अघि बढ्न सकेको छैन। मैले त्यो देखिन’ उनले भने, ‘एकीकृत भएको कम्युनिस्ट पार्टी चाहिन्छ। आगामी ३ महिनासम्म निकै गम्भीर रुपमा यही काममा अघि बढ्ने छौँ।’ गौतमले भने, ‘जुन पार्टीको मैले शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा लाखौं हुनेछन्। सबै चकित हुनेछन्। व्यक्तिगत रुपमा परिवारवादको आरोप नलगाइयोस्। मेरो श्रीमती राजनीति गर्ने ठाउँमा आउन हुँदैन र ? मेरो छोरा र छोरीले काम गर्न नपाउने हो र ? स्वार्थको निम्ति हामीले काम गरेको हैन।’
गौतमले ठूला दललाई अब एक ठाउँमा ल्याउने अठोट पनि गरेका छन्। विगतको अभियान असफल भएपनि अब भने अभियानमा सफल हुने उनले विश्वास व्यक्त गरे। त्यो सफल नभएपनि पार्टी अगाडि बढ्ने पनि बताए ।
‘आजभन्दा २ वर्ष पहिले हामीले नेकपा राष्ट्रिय अभियान सुरु गर्यौं। त्यो पार्टी नभएकाले त्यो सकियो’ गौतमले भने, ‘यो हाम्रो देशको इतिहासलाई अघि बढाउन ठूला दललाई एक बनाउन पार्टी अगाडि सारेका छौँ। त्यो पार्टी एकता हुन सकेन भने हामी पार्टीकै रुपमा अघि बड्छौँ। चुम्बकले चुम्बक तान्छ। हामीसँग हिजो चुम्बक थिएन। आज चुम्बक छ अब अघि बढ्छौँ।’