बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी खोल्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले बुढीगण्डकीको प्रस्ताव लगेको र पारित गरेको ।
‘पब्लिक कम्पनी बनाएर लैजाने निर्णय भएको छ। अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण सहितको सेयर राखेर बनाउने निर्णय भएको छ’, ती मन्त्रीले बताए ।
यसअघि ऊर्जा मन्त्रालयले बुढीगण्डकी कम्पनी मोडलमा बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । लामो समयदेखि चर्चामा रहेको बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि भएको थियो।
यसअघि बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवाले बनाउने भनिएको थियो । बुढीगण्डकी बनाउने पुँजी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा छुट्टै कर लगाउँदै आएको छ ।