जसपा विभाजनको सँघारमा, अशोक राईले साथ छाडेपछि उपेन्द्रसँग विदा माग्दै बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी अन्ततः विभाजन हुने भएको छ । जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका हुन् ।
डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने प्रस्ताव राखेका थिए ।
भट्टराई निकट एक केन्द्रीय सदस्यले उक्त प्रस्तावमा यादव पनि सहमत भएको बताए । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको बताए ।
सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतको भनाई छ ।
सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने सम्भावना छ ।
आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । एक नेताका अनुसार वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव लगायत नेताहरुले डा. भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेको हो ।
मोहम्मद र प्रदीप बुधबारदेखि अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका हुन् । वरिष्ठ नेता अशोकले पनि उपेन्द्रकै पक्षमा लाग्न ‘ग्रिन सिग्नल’ दिएको एक नेताको भनाई छ । डा. भट्टराई कार्यकारिणी समितिमा पनि अल्पमतमा परेका छन् । जसपामा १९ सांसद छन् भने ३३ जना कार्यकारिणी सदस्य छन् । नेताहरुले साथ छोडेपछि उनले पार्टीमा बहुमत गुमाउँदै गएपछि पार्टी छोड्ने तयारी गरेका हुन् ।
पार्टीभित्र अल्पमतमा परेपछि डा. भट्टराईसहितको टोलीले जसपाबाट बाहिरिने तयारी गरेको हो । बुधबार अध्यक्ष उपेन्द्र यादवलाई भेटेर भट्टराईले जसपामा बस्न नसक्ने बताएका हुन् । उपेन्द्र यादवले आफू निकटका नेताहरुलाई विहीबार ब्रिफिङका लागि बोलाएका थिए ।