१३ आश्विन २०८०, शनिबार Saturday 30 September, 2023

वागमतीका मुख्यमन्त्रीलाई एमालेको साथ !

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउने रणनीति लिएको छ । एमालेले आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने जनाएको छ । तर, जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने बताएको हो ।

कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीविरुद्ध बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख समक्ष जान लागेका बेला प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले नयाँ कार्ड फालेको हो ।

एकीकृत समाजवादीलाई पार्टीको मान्यता समेत नदिएको एमालेले सोही पार्टीका मुख्यमन्त्री राजेन्द्र पाण्डेको पद जोगाइदिने रणनीति लिएको हो । पाण्डेलाई एमालेले साथ दिएमा कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए पनि उनले विश्वासको मत पाउने देखिन्छ ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद छन् भने नेकपा एकीकृत समाजवादीका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ,जुन संख्या एमाले र नेकपा एस मिल्दा पुग्छ । सत्ता गठबन्धन फुटाउँनका लागि एमालेले यो कार्ड फाल्न खोजेको छ ।

एमालेका प्रमुख सचेतक दिपक निरौलाका अनुसार विश्वासको मतका लागि औपचारिक रुपमा मुख्यमन्त्रीले दल समक्ष सहयोग मागेमा आफूहरुले त्यसमा छलफल गर्न सक्ने छन् ।

मुख्यमन्त्रीविरुद्ध संविधान बमोजिम अविश्वास प्रस्ताव ल्याउँन नमिल्ने भएकाले कांग्रेसले समर्थन फिर्ता लिएको जानकारी दिएपछि उनी अल्पमतमा पर्नेछन् र विश्वासको मत लिनुपर्नेछ ।

त्यसबेला पाण्डेले एमालेको साथ लिएर सरकार जोगाउँने र एमालेसहतिको सरकार बनाउँने, शीर्ष नेतृत्व गुहारेर सरकार टिकाउँने वा राजीनामा दिने तीन विकल्पमात्र बाँकी रहनेछन् । सामाजिक सञ्जाल ट्वीटरमा मुख्यमन्त्री पाण्डेले गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने बताएका छन् । ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रिय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्’, उनले भनेका छन् ।

प्रतिक्रिया सबै